समाचार
विद्युतीकरण कार्यमा सहयोग तथा बाधा-अवरोध नगर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
विद्युतीकरण कार्यमा सहयोग तथा बाधा-अवरोध नगर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
यस गाउँपालिका अन्तर्गतको वडा नं. २, स्कूल टोलका विभिन्न स्थानहरूमा आम नागरिकको आवश्यकता र अपरिहार्यतालाई मध्यनजर गर्दै स्वीकृत कार्ययोजना (Scope) अनुसार ११ के.भी. तथा ४०० भोल्टको विद्युत लाइन निर्माण एवं ट्रान्सफर्मर जडानको कार्य भइरहेको व्यहोरा सर्वविदितै छ। सो अन्तर्गत ४०० भोल्ट लाइन निर्माणको कार्य सम्पन्न भइसकेको र ट्रान्सफर्मर जडानका लागि ११ के.भी. लाइन विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
तर, उक्त कार्य सञ्चालन भइरहेको स्थलमा केही स्थानीय व्यक्तिहरूबाट विद्युतीय उपकरण निर्माण तथा जडान कार्यमा अनावश्यक बाधा-व्यवधान सिर्जना गर्ने, गाडिसकेको पोल ढाल्ने तथा तानिसकेको तार तोडफोड गर्ने जस्ता गैरकानुनी र विकास विरोधी कार्यहरू भइरहेको पाइएको छ। साथै, कार्यक्षेत्रमा खटिएका निर्माण व्यवसायी (Contractor) का कर्मचारी एवं प्राविधिकहरूलाई हुल-हज्जत, धाक-धम्की दिने कार्य समेत भएकोले हाल विद्युतीकरणको सम्पूर्ण कार्यमा गम्भीर समस्या उत्पन्न हुन गएको छ।
विद्युत जस्तो अत्यावश्यक र संवेदनशील पूर्वाधार निर्माणमा अवरोध पुर्याउनु, सार्वजनिक सम्पत्तिको तोडफोड गर्नु र कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार गर्नु कानुनतः दण्डनीय अपराध हो। अतः यसै सूचनामार्फत सम्पूर्ण गाउँवासी तथा सरोकारवालाहरूमा निम्न अनुसार अपिल तथा सचेत गराइन्छ:
१. सहज वातावरण निर्माण: आफ्नो क्षेत्रको विकास र उज्यालो गाउँ बनाउने यस अभियानमा कुनै पनि किसिमको बाधा-व्यवधान उत्पन्न नगरी सुरक्षित र सहज कार्य वातावरण मिलाइदिनुहुन सम्पूर्ण गाउँवासीमा हार्दिक अनुरोध गरिन्छ।
२. कानुनी कारबाहीको चेतावनी: विकास कार्यमा अवरोध पुर्याउने, भौतिक संरचना तोडफोड गर्ने वा कर्मचारीहरूलाई धम्की दिने कार्यमा संलग्न जोसुकैलाई पनि तत्काल पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याइनेछ।
३. कार्य स्थगित हुन सक्ने: यदि अब उपरान्त पनि यस्ता अवाञ्छित गतिविधिहरू नरोकिएमा र काम गर्ने सहज वातावरण नजुटिएमा यस क्षेत्रको विद्युतीकरणको कार्यलाई पूर्ण रूपमा स्थगित गर्न बाध्य हुने व्यहोरा समेत दुःखका साथ जानकारी गराइन्छ। यसबाट स्थानीय क्षेत्रमा पर्न जाने असुविधाको जिम्मेवार अवरोध पुर्याउने पक्ष नै हुनेछ।
विकास सबैको साझा सम्पत्ति र आवश्यकता हो। तसर्थ, समृद्ध गाउँ निर्माणको यस कार्यमा सकारात्मक सहयोग पुर्याउनुहुन सम्पूर्ण टोलवासी, भद्रभलाद्मी, बुद्धिजीवी एवं नागरिक समाजमा हार्दिक अनुरोध गरिन्छ।
